लैङ्गिक समानताबारे ताम्बाको विश्व दृष्टिकोण



विश्व दृष्टिकोण (World outlook) भनेको जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो। यो विहंगम र व्यापक हुन्छ। यो दृष्टिकोण विश्वमा रहेका जुनसुकै समुदाय वा समाजका लागि उपयुक्त हुनसक्दछ भन्ने मान्यता राख्दछ। तामाङ समाजमा ताम्बालाई चिन्तक मानिन्छ। ताम्बाको चिन्तन दर्शन नै तामाङ समाजको पनि चिन्तन दर्शन हो। जीवन र जगतलाई हेर्ने तामाङ जातिको आफ्नै दृष्टिकोण छ। यो दृष्टिकोण मौलिक हेराइ, चिन्तन र सामाजिक न्यायमा आधारित छ। यहाँ लैङ्गिक समानताबारे ताम्बाको विश्व दृष्टिकोण संक्षिप्तमा प्रस्तुत गरिनेछ।
१ तामाङ भाषामा लैङ्गिक समानता
      भाषावैज्ञानिकहरुले तामाङ भाषालाई लैङ्गिकताविहिन भाषा (Genderless language) मानेका छन्। यस भाषामा लैङ्गिकताबोधक शब्दावली पाइदैन न त लैङ्गिकता नै पाइन्छ। समाजको वास्तविक प्रतिविम्ब भाषामा हुन्छ। तामाङ भाषा तामाङ समाजको ऐना हो। यस भाषामा लिङ्ग भेद छैन। नेपाली, हिन्दी, अङ्ग्रेजी आदि भारोपेली भाषाहरुमा झै जुनसुकै कर्ता भए पनि तामाङ क्रिया, सर्वनाम, विशेषण र सम्वन्ध कारकमा कुनै परिवर्तन हुँदैन। यसलाई निम्न उदाहरणबाट देखाउन सकिन्छ, जस्तै–
                          तामाङ             नेपाली  
      (१) पासाङला जा(जुगु) खाजि।    (१) पासाङको छोरो आयो (आए)
     (२) पासाङला जामे(जुगु) खाजि।  (२) पासाङकी छोरी आई (आईन्)
     (३) थेला जा तार मुला।             (३) उसको छोरा गोरो छ
     (४) थेला जामे तार मुला।           (४) उनकी छोरी गोरी छे
     भाषामा लैगिकता हेर्ने चार प्रमुख आधार हुन्छन् –
     १.१ क्रियापदः नेपाली, हिन्दी आदि आर्यपरिवारका भाषाहरुमा कर्ताको आधारमा क्रियापदमा सङ्गति हुन्छ अर्थात् कर्ता पुलिङ्गी भए क्रियापद पनि पुलिङ्गी र कर्ता स्त्रीलिङ्गी भए क्रियापद पनि स्त्रीलिङ्गी हुन्छ। तर जुनसुकै लिङ्गका कर्ता भए पनि तामाङ क्रियामा परिवर्तन आउँदैन, माथिका चार ओटै उदाहरणबाट यसको पुष्टी हुन्छ। 
     १.२ सर्वनामः नेपाली, हिन्दी, अङ्ग्रेजी आदि भारोपेली परिवारका भाषामा महिला र पुरुषले बोध गर्ने सर्वनाम पाइन्छ। अङ्ग्रेजी भाषामा शि (She) सर्वनामले महिला जनाउँछ। तर यस प्रकारका सर्वनाम तामाङ भाषामा पाइदैन, उदा. ३ र ४ हेर्न सकिन्छ।
     १.३ विशेषणः नेपाली, हिन्दी आदि आर्यभाषाहरुमा विशेषणले (गोरो गोरी, कालो काली)ले फरक जेण्डर सङ्केत गर्दछ। तर तामाङ भाषामा गर्दैन। माथिका उदा. ३ र ४ हेर्न सकिन्छ।
     १.४ सम्वन्ध कारकः नेपाली, हिन्दी आदि भाषामा सम्वन्ध कारक (को, का, की, रा, रे, री)ले जेण्डर पनि सङ्केत गर्दछ। तर तामाङ भाषामा पाइदैन, माथिका चार ओटै उदाहरण हेर्न सकिन्छ।  
     तामाङ भाषाको लैंगिकता (जेण्डर) विश्लेषणबाट प्रष्ट हुन्छ – यस भाषामा व्याकरणीय लैङ्गिक विभेद छैन। यसर्थ यो लैगिकताविहिन भाषा हो। तामाङ भाषाको यो मौलिक संरचना पनि हो। सामाजिक संरचना जस्तो छ, भाषाको संरचनामा पनि त्यस्तै हुन्छ। भाषामा लैङ्गिक विभेद नभएपछि सामाजमा पनि लैङ्गिक भेद हुँदैन (परिवेशीय प्रभावले कृत्रिम लिङ्गभेद नहुने होइन)। यो नै तामाङ जातिको मौलिक दृष्टिकोण हो। तामाङ भाषामा लैङ्गिक समानता प्रष्ट देखिन्छ।
२ तामाङ समाजमा चेलीको थर परिवर्तन हुँदैन
      तामाङ समाजमा चेलीको थर स्थायी हुन्छ, परिवर्तन हुँदैन। हिन्दू समाजमा विवाहपश्चात् चेलीको थर श्रीमानको थरमा परिवर्तन हुन्छ।
      तामाङ छोरी जुन थर (कुल)मा जन्मेकी हुन्छे, उसै थरमा जीवनभर रहन्छे, जस्तै ‘मोक्तान’ थरकी चेली ‘योन्जन’ थरको केटोसँग विवाह हुन्छ भने उनी ‘योन्जन’ हुँदैन, तामाङ सामाजिक नियम अनुसार ऊ ‘मोक्तान’ नै रहन्छे अर्थात् उसको थर परिवर्तन हुँदैन। श्रीमानको घरका सदस्यले उसलाई परिचय गराउँदा वा सम्बोधन गर्दा ‘मोक्तानस्या’ (मोक्ताननी) भनेरै बोलाउँदछ अर्थात् जन्मको थर नै जीवनभर उसको आफ्नो थर हुन्छ।
     चेलीको थर परिवर्तन हुनु र नहुनुमा सम्वन्धित जातिका सांस्कृतिक मूल्य र मान्यता जिम्मेवार हुन्छ। तामाङ समुदायमा स्थापित मूल्यमान्यताको व्याख्यान ताम्बाले गर्दछ। ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ। विवाहको अवसरमा तामाङ रीतिरिवाजको चाँजो मिलाई सकेपछि भनौं विवाहको चरमोत्कर्ष (चारताम)मा ताम्बा भन्दछन् –डिन्छेन आपाला का, डिन्छेन आमाला स्या म्हाला स्यापरि प्रात्चि। रुइवाला चारि (रुइस्याल) मायुङला छ्यारिन् मुला अर्थात् बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियो तर चेलीको अस्थि (हाड) माइतीको अधिनमा नै छ।’ तामाङ समाजमा अस्थिलाई बुबाको वंश वा थरको प्रतीक मानिन्छ अनि रगत र मासुलाई आमाको वंशको प्रतीक मानिन्छ।
     कुटुम्बलाई चेलीको रगत र मासु मात्र दिइन्छ तर रुइस्याल अर्थात् चेलीको अस्थि (थर) दिइदैन। ताम्बाले प्रष्ट शब्दमा भनेका छन् –रुइबाला चारि मायुङ्ला छयारिन् मुला (चेलीको अस्थि माइतिको हातमा नै छ)। विवाहपश्चात् पनि चेलीको हाड माइतीमा नै रहने सांस्कृतिक परम्परा रहेको छ। यस प्रक्रियाबाट तामाङ समाजमा विवाहपश्चात् चेलीको थर परिवर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ।
     यसपछि बेहुली तर्फका ताम्बा भन्दछन् – स्या का मायुङ्से प्रात्चि, रुइबाला चारि मायुङ्लान्। बुसिङ्ला चु रुइबाला चरि तोरमार तासाम मायुङ्ला छ्यारि दोन्ला, मायुङ रेन्बोर्छेअर्थात् ’माइतीले चेलीको रगत मासु हामीलाई सुम्पिनु भो। चेलीको अस्थि माइतीको वंशमा नै छ। चेली तलमाथि भयो (मर्यो) भने यो अस्थि (हाड) माइतीलाई फिर्ता गरिदिने छौं।’ यसरी बेहुला पक्ष बेहुलीको अस्थि फिर्ता गर्ने बचनबद्ध हुन्छन्।
     ताम्बाको उक्त बयानबाट प्रष्ट हुन्छ – तामाङ चेली गाईवस्तु जस्तै दान दिने वा बेचविखनको वस्तु होइन रहेछ। विवाहपश्चात् पनि चेलीको हकअधिकार र कर्तव्य माइतीमा रहिरहन्छ। यिनै सांस्कृतिक मूल्य र मान्यताको आधारमा तामाङ चेलीको थर परिवर्तन हुँदैन। जन्म थरको स्थायित्व हुन्छ। यसले तामाङ समाजमा छोरीलाई कन्यादान दिदैन भन्ने प्रष्ट पारेको छ। छोरो गाई जस्तै दान दिने वस्तु होइन भन्ने सङ्केत गरेको छ। यस अर्थमा पनि तामाङ सांस्कृतिक पहिचान अन्य समुदायको भन्दा फरक रहेछ भनेर भन्न सकिन्छ।
तामाङ चेली र माइतीको सामाजिकसांस्कृतिक सम्न्ध
      तामाङ समाजमा माइती र चेलीको सम्बन्ध गहिरो हुन्छ। आफ्नो जन्मघर र जन्मथरको यश राख्न चेलीको पनि दायित्व हुन्छ। यसो हुनाले आमा–बुबाको मृत्युपश्चात् पनि चेली र माइतीबीच आवत–जावत् भइनै रहन्छ। तर हिन्दू समाजमा आमा–बुबा मृत्युपछि सांस्कृतिक सम्वन्ध झिनो हुँदै जान्छ। विवाहको अवसरमा नै आमा बुबाले भोकै बसेर र कन्यादान दिएर छोरीसँगको सांस्कृतिक सम्वन्ध टुटाइ सकेको हुन्छ। तामाङ समाजमा चेली माइत आउनुको अर्थ मायामोह मात्र होइन सांस्कृतिक हकअधिकार पनि हो। आमा–बुबा नरहे पनि माइतीले चेलीको रेखदेखको पूर्ण जिम्मेवारी बहन गर्दछ।
     यसै कारणले तामाङ समुदायमा छोरीको इच्छा विपरित विवाह गरिदैन। विवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ। यदि कसैले जवर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले बिराजीको मत जाहेर गरेमा माइती घरमा फिर्ता ल्याउनु आवश्यक हुन्छ। तीन-चार जना छोराछोरीकी आमा बने पनि चेलीले आफ्नो लोग्नेसँग बस्न अनिच्छा प्रकट गरेमा माइतीमा आउँछिन्। चेलीको इच्छाअनुसार अर्को कुटुम्बसँग पुनः विवाह गरिदिन्छन् अर्थात् चेलीको घरजमको मामिलामा चेलीको विचार नै सर्वोपरि हुन्छ।
     चेलीको मृत्यु भएमा माइतीको उपस्थिति र स्वीकृतिबिना लास चलाउन पाइँदैन। माइतीले चेलीको मृत्युको कारण सोधपुछ गरी लासको निरिक्षण गर्दछन् र विश्वस्त भएपछि मात्र लास चलाउन स्वीकृति दिन्छन्। यो प्रचलन मेडिकल साइन्सको पोस्टमार्टम जस्तै हो। कुटुम्बाले घेवा अर्थात् अन्तिम मृत्यु संस्कारमा माइतीलाई निम्त्याएर सामाजिक नायकहरु – ताम्बा, गान्बा, चोहो, लामा आदि भद्रभलाद्मीको उपस्थितिमा लामाको डाजाङ (आसान)मा चेलीको अस्थि विवाहमा गरिएको सर्तअनुसार फिर्ता गर्दछन्। माइतीले चेलीको रुइबाला चरी (थरको प्रतीक हाड) विधिविधानसहित ग्रहण गर्दछन्। यसरी तामाङ चेली कुटुम्बको घर गएर पनि जन्मथर कायम राख्छन् र मृत्युपश्चात् पनि आफ्नो जन्म घरमा फर्किएकी हुन्छे।
     माइतीले सामाजिक जिम्मेवारीपूर्ण चेलीको अस्ति (हाड) ग्रहण गरेपछि चेलीको उक्त अस्थिलाई पूर्खाको आदिभूमि अर्थात् पवित्र तिर्थस्थल स्वम्भूमा लगेर शान्तबुद्धलाई समर्पित गर्दछन् र प्रकाशमय पर्यावरणको लागि बौद्ध तथा स्वयम्भूमा नाङ्साल (बत्ती) बाल्दछन्। यी तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आफ्नो पूर्खाको आदिभूमिमा पूर्खाहरुसँग बसोबास गराउनु हो, पितृमा लिन गराउनु हो भन्ने विश्वास पाइन्छ। त्यसपछि पनि वर्ष वर्षमा ती पवित्र स्थलहरुमा गएर चेली अध्याँरो यात्रामा होलिन्, उज्यालो होस्, शान्ति होस् भन्दै चेलीको नाममा माइतीले बत्ती बाल्ने गर्दछन्। आजभोलि पनि प्रत्येक वर्षको चैत्र पूर्णिमाको अगिल्लो दिन बौद्धको चैत्यमा र पूर्णिमाको दिन स्वयम्भूमा मृतकको नाउँमा बत्ती बाल्ने तामाङ श्रद्धालुहरुको भिड हेर्न सकिन्छ। चेलीहरु पनि आफ्नो माइतिको सुखदुखमा कोसेलीसहित सहभागी भइरहेकी हुन्छिन्।
४ महिनावारी नबार्ने संस्कृति
      हिन्दु नारीहरुले महिनावारी बार्ने गर्दछन् तर तामाङ नारीले बार्दैनन्। नेपालका पश्चिम क्षेत्रका नारीहरुले महिनावारी बार्ने हुनाले ५ दिनसम्म अल्ग्गै छाप्रोमा छाउपडी बस्छन्। तामाङ भाषामा महिनावारी, मासिक धर्म वा मेन्स वा छाउपडी जस्ता शब्द पाइदैंन। उनीहरु गुने न्होङ्बा भन्दछन् जसको अर्थ 'गुन्यु बिग्रेको' भन्ने हुन्छ। तामाङ महिलाले मात्र होइन सम्पूर्ण भोट–बर्मेली भाषा परिवारका समुदायमा मेन्स (Menses) बार्ने प्रचलन छैन। मेन्स बार्नु भनेको महिलाहरुलाई पुरुषको स्वामित्व वा निगरानीमा राख्नु हो। यो परम्पराले नै मेन्स बार्ने समुदायका महिलाहरुलाई पुरुषको समकक्षामा स्थापित गरेन। तामाङ लगायतका आदिवासी समाजमा आदिवासी महिलाहरु पुरुषभन्दा एक कदम अगाडि छन्। (अहिनेको जमाना भनेको सिक्ने सिकाउने जमाना हो। यसबारे तामाङ महिलाने हिन्दु महिलालाई परामर्श दिन सक्छन् वा तामाङ महिलाबाट पनि उनीहरुने सिक्न सक्दछन्।) 
५ झो (पेवा) अर्थात् तामाङ महिलाको आर्थिक अधिकार 
      तामाङ समाजमा छोरीचेलीले पेवा बनाउने परम्परा छ, पेवा बढाउने र पेवा राख्न पाउने परम्परा पनि छ। झो अर्थात् पेवा तामाङ छोरीचेलीको निजी सम्पत्तिको रूपमा स्थापित छ। जसले आर्जन गर्छ, पेवामा उसैको हक हुन्छ। पेवामाथि आमाबुबा, दाज्यूभाइ, माइति, लोग्ने, छोरा, नाति आदि परिवारका अन्य कुनै पनि सदस्यको हक लाग्दैन। तामाङ समाज र संस्कृतिले छोरीचेलीको पेवामाथि अन्य कसैको पनि हक स्थापित गरेको छैन अर्थात् तामाङ समाजले तामाङ नारीलाई पेवा मार्फत् आर्थिक हक स्थापित गरिदिएको छ। यो सामाजिक परम्पराको रूपमा स्थापित तामाङ संस्कृति हो, मूल्य र मान्यता पनि हो। पेवा परम्पराले गर्दा नै तामाङ महिलाहरू सबल र सक्षम हुन्छन्।
     तामाङ समाजले ‘झो’ भने पछि ‘छोरीचेली आफैंले कमाएको निजी वा ‘व्यक्तिगत सम्पत्ति’ भनेर बुझदछन्। सम्भवतः सबै आदिवासी समाजमा पेवा परम्परा स्थापित छ।
पेवा परम्परा चेपाङ जातिमा अझ सजीव रहेछ, छोरी जन्मेपछि सो छोरीको नाउँमा चिउरीको एउटा रूख रोपेर हुर्काउने र संरक्षण गर्ने गर्दो रहेछ। छोरी विवाह गरेर गए पनि त्यो चिउरीको रूख छोरीको नै हुँदो रहेछ। मैले यस्तै एउटा फिल्म हेर्ने मौका पाएको थिए। यसले अचल सम्पत्तिमाथि पनि छोरीचेलीको हक स्थापित गरेको छ। माइतीसँगको सम्वन्ध पनि विस्तार गरेको छ। लिम्बू जातिमा विवाहको समयमा छोरीलाई आमाको कुलदेउता नै दिएर पठाएको हुन्छ अर्थात् आमाले माइतीबाट ल्याएको देउता विवाहमा छोरीलाई दिइपठाउँछन् र छोरीले लोग्नेको घरमा पुगेर आफुसँग ल्याएको देउताको पूजा गर्ने गर्दछन्। यसरी आमाको कुलदेउता नै छोरीले पेवाको रूपमा पाउँछन्। यस प्रक्रियाले लिम्बू महिलाको सांस्कृतिक अधिकार पनि निकै बलियो रहेछ भन्ने देखाउँछ।  
     पेवा भनेको पेवा नै हो दाइजो होइन। दाइजोमा आपनो श्रम हुदैन, दानदक्षिणा वा दयामाया मात्र हुन्छ। पेवा सानैदेखि श्रममूलक, स्वअर्जित र सञ्चित छोरीचेलीको निजी सम्पत्ति हो। यो निरन्तर श्रम तथा व्यवहारले जोहो गरेर राखेको हुन्छ। पेवाले तामाङ महिलालाई अधिकार सम्पन्न बनाएको छ र आर्थिक रूपमा पनि समक्ष तुल्याएको छ। सामाजिक तथा साँस्कृतिक रूपले पनि उनीहरूलाई मानसम्मान, इज्जत प्रदान गरेको छ।
६ आमाको सम्पतिमा छोरीको हक लाग्छ   
      विवाह पूर्व माइतीमा अर्जेको पेवा माइतीको वा परिवारका अन्य सदस्यको हक लाग्दैन। विवाह भएर लोग्नेको घर गएपछि त्यो सम्पत्तिमा लोग्नेको वा लोग्नेको परिवारका कुनै सदस्यको पनि हक दावी हुँदैन। छोराछोरीका लालनपालनमा वा शिक्षादिक्षामा खर्च भइहाले पनि लोग्नेले सम्झेर फिर्ता गर्नुपर्ने हुन्छ। यो स्वाभाविक प्रक्रिया र स्थापित संस्कृति भएको हुनाले यसबारे कुनै प्रश्न उठदैन, उठाइदैन। यसरी पेवा तामाङ महिलाको नीजि सम्पत्तिको रूपमा स्थापित भएको हुनाले पेवाको वितरण उसको इच्छामा भर पर्दछ तर पनि पेवा मूलतः आमाको पेवा छोरीमा सर्छ अर्थात् मुख्य हकदार छोरी नै हुन्छ। सबै छोरीहरू समान हकदार हुन्छ वा हुँदैन त्यो भने आमाको इच्छामा निर्भर हुने गर्दछ।
     यससम्वन्धी म एउटा घटना प्रस्तुत गर्न चाहन्छु। कुरा २०४२ सालतिरको हो। म ससुराली गाउँ रामेछाप जिल्लाको पिङखुरी गाविसको पिङखुरी गाउँमा थिए। सासुकी आमाको घेवा कार्य सम्पन्न हुन लागेको थियो। सासुका ५ दाज्यूभाइ र तीन दिदी बहिनी गरी ८ जना थिए। एक दिन सबै जना बसेर घेवामा कति खर्च हुन्छ भनेर हिसाब गर्न थाले। चामल, मासु, दाल, तरकारी, जाँड–रक्सी गरी प्रत्येकले रू २,२००⁄– का दरले व्यहोर्नु पर्ने भयो। मेरी सासुले पनि आमाकी घेवा खर्च जम्मा गर्नु पर्ने भयो। स्थानीय परम्परा अनुसार आठ–नौ सय बरावरको कोसेलीपात त लानु नै थियो।
     आमाको काजक्रियामा छोरीले किन छोरा सरह खर्च व्यहोर्नु परेको मैले बुझ्न सकिनँ। त्यसको ठीक दुइ वर्षपछि सासुका बाबुको घेवामा भने सासुले भागवण्डा व्यहोर्नु परेन। चलनचल्तीको कोसेलीपात मात्र लगेकी थिइन। आमाको घेवामा छोरीले पनि छोरा सरह व्यहोर्नु पर्ने र बुबाको घेवामा व्यहोर्नु नपर्ने? यसबारे बुझने प्रयास निकै गरे तर कतैबाट पनि सन्तोषजनक उत्तर आएन। सबैले सामाजिक चलन हो, स्थानीय परम्परा हो मात्र भने।
     म जिज्ञासाबाट तृष्णमुक्त हुन सकिनँ। तामाङ संस्कृतिमा छोरा, छोरी, ज्वाई, छरछिमेक, नातागोता, गन्यमान्य व्यक्तिहरूको भूमिका खोज्ने क्रममा गाँठो कुरा हात पर्यो। आमाको पेवामा छोरीहरू मात्र हकदार हुने भएकोले छोरीहरू पनि घेवा कार्यमा बराबरीको हैसियतले सहभागी हुँदा रहेछन्। बाबुको सम्पत्तिमा छोरा मात्र हकदार भएकोले बाबुको घेवा कार्यमा सबै खर्च छोराहरूले मात्र व्यहोर्दा रहेछन्। मेरो लागि यो ज्ञान निकै उपलब्धिमूलक बन्यो।
     माथिको घटना अध्ययनबाट प्रष्ट हुन्छ – आमाको पेवामा छोरीको हक लाग्दो रहेछ। पेवा छोरीमा सर्दो रहेछ। ताम्बा दर्शन अनुसार पनि आमाबाट रगत र मासु बनेको हुन्छ। विवाहमा पनि कुटुम्बलाई रगत र मासु मात्र दिइन्छ। आमाको पेवा छोरीमा सर्नु वा छोरीको हक लाग्नु स्वाभाविकै रहेछ।
७. निचोड
      तामाङ समाजमा ताम्बाले विभिन्न सामाजिक तथा सांस्कृतिक विधिविधानमार्फत् तामाङ चेलीलाई नारी समानता र स्वतन्त्रताको सांस्कृतिक तथा सामाजिक वैधानिकता प्रदान गरेको छ।
     अमेरिकन मानवशास्त्री डा. क्याथरिन एस मार्चले १९९४ तिर एउटा प्रस्तुतिमा तामाङ महिलाको सम्वन्धमा दुइओटा संकथन शसक्त ढङ्गले राखेकी थिइन् – (१) तामाङ समाजमा जेण्डर (लैङ्गिता)को अवधारणा छैन र (२) तामाङ महिला पेवा र सीपले गर्दा निकै सक्षम छिन्।
     (१) जेण्डरको परिभाषा देखाउँदै उनले तामाङ समाजमा महिलाले गर्ने र पुरुषले गर्ने कामको कुनै विभाजन छैन भनेर घटना अध्ययन प्रस्तुत गरेकी थिइन्। तामाङ घरपरिवारमा खाना पकाउने, भाडा धुने, पानी ओसार्ने, बच्चा बोक्ने र स्याहार्ने अनि कोसेलीपात बोक्ने कामसमेत महिला पुरुष दुवैले समान ढङ्गले गर्दछन्। महिला मात्रले गर्ने र पुरुष मात्रले गर्ने कामको विभाजन समाजमा छैन भने जेण्डर कहाँ हुन्छ त? उनले भनेकी थिइन्।
     (२) तामाङ समाजमा महिला बलियो हुनका कारण उनीहरुसँग (क) सीप र (ख) पेवा हुनु हो। तामाङ महिलाले धेरै प्रकारका सीप जानेकी हुन्छिन् – डोरी बाटने, गुन्द्री बुन्नेदेखि राडीपाखी, गलैंचा बुन्नेसम्मको सीप। सीपका साथै उसँग पेवा पनि हुन्छ। उमेर बढदै जाँदा पेवा बढछ। केटाहरू पनि ऊसँग सीप र पेवा छ भएर नै माग्न गएका हुन्छन्। तसर्थ कुनै केटाले माग्न आएमा केटा पक्षको ल्याकत हेरेर नजाने भन्न सक्दछे (अन्य जात का नारीमा यो आँट गर्न सामाजिक चलनले नै दिदैन रे)। उनले आपनो इच्छाले केटा रोज्न सक्दछे। विवाह पश्चात् पनि सीप र पेवाले गर्दा श्रीमानको घरपरिवारमा हेपिदैनन्, लोग्नेको घरमा सहज वातावरण नभएमा माइतिमा आएर बस्न सक्छन्, वन्दव्यापार गरेर खाने आँट गर्दछिन्। डा. मार्चको प्रस्तुति नुवाकोटको एउटा तामाङ गाउँमा एक दशकदेखि उनले गरेको अनुसन्धानको सार थियो।
     यसै गरी पूजाआजामा ज्योसँगसँगै ज्योमो पनि आउँछ। नरनारी दुबै समान छन् भन्ने सन्देश पितृपूजाले पनि दिन्छ –
     ज्योहो म्हान्जे चाङ्मादा सेर्गेम फुल्ला  
     ज्योमो म्हान्जे चाङमादा सेर्गेम फुल्ला। मोक्तान दोङराप भाग १ पृ २७
     सारमा भन्नु पर्दा तामाङ सांस्कृतिक पहिचान विशिष्ठ छ, अन्य जात र जातिको भन्दा छुट्टै छ। तामाङ जातिको मौलिक चिन्तन र अभ्यास सामाजिक न्यायमा आधारित छ। तर हाम्रा दृष्टिकोण माथि राष्टिय समुदाय वा प्रभुत्वशाली संस्कृतिको प्रभाव निरन्तर बढेको छ। नेपालका शासक जाति वा प्रभुत्वशाली जातिको चालचलन र परिवहनीय ज्ञानले गर्दा आदिवासी समुदायको मौलिक ज्ञान आझेलमा पर्दै गएको छ। परिवहनीय ज्ञान बढी प्रचारित हुन्छ। अझेलमा परेको तामाङ ज्ञान सिप र अभ्यासलाई बाहिर ल्याउनु आवश्यक छ। 
     तामाङ समाजमा नारीलाई सशक्त बनाउने धेरै सामाजिक सांस्कृतिक आधारहरू रहेछन्। यी आधारहरूलाई निरन्तरता कसरी दिन सकिन्छ भनेर सोंच्न पनि आवश्यक छ। 
तामाङ समाजका उपरोक्त विश्व दृष्टिकोण, चिन्तन, अवधारणा र अभ्यासलाई अन्य समुदायमा पनि पुर्याएर, अन्यायमा परेका महिलालाई सामाजिक न्याय दिलाउन आवश्यक छ। यसो गर्न सकेमा नेपाली समाजका साथै विश्वमा हाम्रो महत्वपूर्ण योगदान हुनेछ, नेपाली भाषी महिलाहरुले पनि मुक्तिको बाटो पहिल्याउने छन्, नारीको हकअधिकार स्थापित हुनेछ। यसो हुन सक्यो भने अन्य नेपाली समाजमा हाम्रो सांस्कृतिक परम्पराको योगदान ठहरिनेछ। डा. डेभिड होल्मवर्गले भनेका रहेछन् – "Tamang women are more respeted, more free, less opprssed than any others. We talk abut women in Nepal means we talk about Hindu model. High class people should learn from Tibeto-Burman people like Tamang."
Amrit Yonjan-Tamang

Comments

Popular posts from this blog

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

hello