तामाङ समुदायको ‘छेची’ नाच



दार्खा (धादिङ), माघ १४ - वि.सं. १८८९ देखि तामाङ समुदायले मनाउने छेची पर्व माओवादी सशस्त्र द्वन्द्वको समयमा बन्द भए पनि १२ वर्षपछि निरन्तरता पाएको छ । दार्खा गाविस ३ व्युर्चेतमा अन्त्य भएको तामाङ समुदायको संस्कार, संस्कृति र परम्परा पुनःस्थापित  गरिएको हो ।

१२ वर्षपछि पर्व मनाउन पाउँदा दार्खाका बौद्ध धर्मावलम्बी तामाङ समुदायले पाँच दिनसम्म धुमधामले छेची मनाए । १० वरदान माग्ने भनेर परिचत पर्व सोमबार सकिएको हो । तामाङ समुदायको लोक जीवनमा घटेका परम्परामा आधारित छेची पर्व धादिङ, नुवाकोट र रसुवामा मात्र मनाउने चलन रहेको पर्व प्रचारप्रसार समिति संयोजक गोपाल फ्युबाले जनाए । 'लोप भइसकेको तामाङ समुदायको परम्परालाई जोगाउने प्रयासमा छौँ,' उनले भने ।
जातीय, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक र धार्मिक रूपमा महत्व बोकेको छेची पाँच दिनको तालिका बनाएर मनाएको हो । पर्वमा तामाङ समुदायका विविध पक्षलाई नाचगान र मनोरञ्जनका माध्यमबाट अभिनय गरिएको थियो । पर्वमा उनीहरूको लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, उखानटुक्का र गाउँखाने कथाको वर्णन गरिएको हो । अन्त्य भइसकेको पर्व ब्युँताई संरक्षण गरेर अन्यत्रसम्म पुर्‍याउने लक्ष्य रहेको फ्युबाले बताए ।
फागुन शुक्ल दशमीदेखि पुर्णिमासम्म विशेष रूपमा छेची उत्सव मनाउने गरिएको ९६ वर्षीय तामाङ जिम्माल याङ जोङले जानकारी दिए ।
हिउँद सकिएर खेतीपातीको समय सुरु भएको संकेतका रूपमा पनि पर्व मनाउने गरिएको स्थानीयवासी बताउँछन् । पहिले गाउँलेबीच छेची कुन मितिमा कसरी मनाउने सल्लाह गर्ने प्रचलन रहेको छ । त्यसपछि समयतालिका बनाएर विधिअनुसार पर्व मनाउने गरिन्छ । पाँच दिनको समयतालिकामा क्रमशः पारस काटेर डसङ (मन्दिर) बनाउने, पल्दोर बनाउने र मुखे नाच्ने, लामाको वाङ र सांस्कृतिक कार्यक्रम, चेमा र अन्तिम दिन छ्यमसहित विधिवत् समापन गरिने स्थानीय शिक्षक अर्जुनबहादुर तामाङले बताए । पाँच दिनमा मुख्यतः मुखे नाच, लामा नाच, फुक्तुङ नाच, ल्हल्हिमो, वेश्यक, म्हान्देउ, किर्पा, घोडाचढी नाच, म्हाने दोरा, यहा, तिम्ङयु, म्हेन्दो माया नाचसमेतको चेमा खेलाइन्छ ।
घोडचढी नाच जिल्लामा मात्रै नभएर अन्य भागमा समेत लोकप्रिय रहेको छ । यसको संरक्षणका लागि पनि छेची पर्वको जगेर्ना गर्नुपर्ने तामाङले बताए । घोडाचढी नाच पृथ्वीनारायण शाहले नुवाकोट राज्य एकीकरणका समयमा पृथ्वीनारायण शाहको सेना र तामाङ सेनाबीच भएको लडाइँमा आधारित रहेको छ ।
साभारः- Bhim Dong Tamang

Comments

Popular posts from this blog

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

hello