दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

राजधानी समाचारदाता
काठमाडौं, १८ माघ
‘मिस तामाङ–२०१५’को ताज लक्ष्मी तामाङ मोक्तानले चुमेकी छन् । ३३ स्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले उपाधि हात पारेकी हुन् । राजधानीमा शनिबार आयोजित प्रतियोगिताको आठौं संस्करणमा लक्ष्मीले निर्णायक मण्डलले सोधेको ‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के हुन्छ ?’ भन्ने प्रश्नमा‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् । लक्ष्मीले ताजसहित विभिन्न उपहार पाइन् । 

प्रतियोगितामा मनीषा योञ्जनले ‘मिस ट्यालेन्ट’सँगै फस्ट रनरअप र सुजाता तामाङले सेकेन्ड रनरअपको ताज पहिरिएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको सबटाइटल उपाधि पाए ।
त्यस्तै, निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एसएमएस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र संगीता पाख्रिनले ब्युटी विथ पर्पोजको उपाधि पाए ।
एभेरस्ट फेसन होमद्वारा आयोजित प्रतियोगितमा स्पर्धीहरू पहिलो चरणमा तामाङ समुदायको मौलिक पहिरनका साथ स्टेजमा प्रस्तुत भएका थिए । प्रतियोगीले तामाङ भाषामै आ–आफ्नो परिचय दिएपछि बेस्ट डे«स राउन्डमा उत्रिएका थिए । निर्णायकको प्रश्नको आधारमा उत्कृष्ट १५ हुँदै उत्कृष्ट सात छानिएपछि उत्कृष्ट तीनका लागि साझा प्रश्न सोधिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा व्यवसायी इच्छाराज तामाङ, दानबहादुर तामाङ, विद्यार्थी नेतृ नवीना लामा, सञ्चारकर्मी फुलमान बल, रोजी लोप्चन तामाङलगायत रहेका थिए । प्रतियोगीहरूलाई रोजिन शाक्यले करिब एक महिना कोरियोग्राफी गरेका थिए । मिस तमाङले नयाँ पुस्तामा तामाङ संस्कृति, भाषा र मौलिकता प्रवद्र्धन गर्ने आयोजक संस्था एभरेस्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामा ब्लोनले बताइन् । यसअघिका अधिकांश संस्करणहरू ल्होसारको अवसरमा टुँडिखेलमा हुँदै आएको थियो ।
प्रकाशित मिति: २०१५-०२-०२ ०९:०२ | ५८ पटक हेरिएको

Sharing Buttons