ताम्सालीङ स्वायत्त प्रदेशको घोषणा

मल्ल तथा गोर्खा राज्यको फौजी अतिक्रमण तथा राज्य विस्तारभन्दा पहिले तामाङ जातिको वर्तमान नेपालको मध्य पहाडी भूखण्डमा आफ्नै स्वायत्त गणराज्यहरु भएको, आजभन्दा ठीक २४० वर्ष अघि पृथ्वीनारायण शाह फौजी अतिक्रमणपछि ती गणराज्यहरुको बाँकी रहेको अस्तित्व र संरचना पनि सम्पूर्ण रुपमा नष्ट भएको र एकीकरणको नाममा सिंगो नेपाललाई एकल जातीय सामन्ति केन्द्रिकृत खस हिन्दुराज्य बनाउने खसकरणका कारण तामाङ जाति लगायत समस्त आदिवासी जनजातिहरुले आफ्नो पहिचान र अस्तित्वका लागि आज पर्यन्त संघर्ष र विद्रोह गर्दे आउनुपरेको ऐतिहासिक तथ्यलाई हृदयंगम गर्दै,
नेपालको सरदर ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोमा इतिहासमा भएको विभेदका कारण आज ६१ प्रतिशतले तामाङ जनता गरिवीको रेखामुनी रहन बाध्य हुनुपरेको, ६५ प्रतिशत तामाङ जनता अशिक्षाको मुखमा पुग्नु परेको यथातथ्यलाई ध्यान दिँदै तामाङ जातिको ऐतिहासिक भूमि ताम्सालिङमा तामाङ जनतालाई नै प्राधिकार बनाउने स्वायत्तशासन व्यवस्थाको निर्माण गरी र ताम्सालीङका जातजाति र आदिवासी जनजाति तथा विभिन्न धर्म सम्प्रदाय एवं भाषाभाषी सबैको साझा राज्य बनाएर मात्र नयाँ नेपाल बन्न सक्ने तथ्यलाई मनन गर्दै,
विचार र मान्यताका हिसाबले हामी तामाङहरु जो जो, जहाँ जहाँ भएपनि तामाङ जनताको ताम्सालीङ निर्माणका लागि दलगत मान्यताभन्दा माथि उठेर एक हुनुपर्दछ र त्यसका लागि दलभित्र दलगत ढंगले मोर्चाबन्दीकासाथ सडकमा ताम्सालीङका लागि संघर्ष गरेर मात्र तामाङ जनताको ताम्सालीङ बन्नसक्दछ र त्यो तामाङ जनता आफैले लडेर मात्र प्राप्त हुन सक्दछ भन्ने यथातथ्यलाई आत्मसात् गर्दै,
जवसम्म तामाङ जनताले ताम्सालीङ प्राप्त गर्दैनन् तवसम्म तामाङ जनताको भाग्यरेखा तामाङ जनता आफैल कोर्न पाउँदैनन् भन्ने तथ्यलाई हृदयंगम गरी शान्तिपूर्ण माध्यमबाटै नेपाल राज्यको अविभाज्य, अखण्ड र सार्वभौमसत्ता सम्पन्न नेपालभित्र संघात्मक संरचनामा ताम्सालीङ (स्वायत्त राज्य) निर्माण गर्ने चाहनालाई मूर्तरुप दिने प्रयत्नस्वरुप शान्तिपूर्ण आन्दोलनलाई आफ्नो अभिष्ट ठान्दै,

ताम्सालीङ स्वायत्त प्रदेश तामाङ जाति र जनताको मात्र नभएर ताम्सालीङमा परापूर्वकालदेखि बस्दै, रहँदै आएका विभिन्न अल्पसंख्यक आदिवासीहरु, पछि आएर रहे बसेका विभिन्न जातजाति, अन्य आदिवासी जनजाति तथा विभिन्न भाषा, धर्म, सम्प्रदाय समेतको साझा र बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक राज्य हो भन्ने तथ्यलाई आत्मसात गर्दै आदिवासीहरुको जातीय बाहुल्यता र अनुपातका हिसाबले राज्यसंरचना तथा जन, जमिन र जंगलमाथि अग्राधिकारसहितको स्वायत्तता र अन्यको समानुपातिक प्रतिनिधित्वसहितको स्वशासनको अधिकार तथा गैर भौगोलिक समुदायको संरक्षणको अधिकारलाई सम्मान गर्दै र राज्य संरचनामा सबै जातजाति, आदिवासी जनजाति, लिंग, क्षेत्र र वर्गका जनताको समानुपातिक र समावेशी प्रतिनिधित्वको अधिकारलाई सुनिश्चित गर्दै,
ताम्सालिङ स्वायत्त प्रदेशभित्र जसरी विभिन्न आदिवासीहरुलाई स्वायत्तता र अन्य जनजाति, जातजाति लगायतलाई स्वशासनको अधिकार र गैर भौगोलिक समुदायलाई संरक्षणको अधिकार हुन्छ त्यसरी नै अन्य स्वायत्त/स्वशासित प्रदेशहरुमा पनि "स्वायत्तताभित्र स्वायत्तता" को नीति अन्तर्गत देशैभरी जनसंख्याको सघनता र त्यसले ढाकेको क्षेत्रगत भूमिका आधारमा ताम्सालीङ बन्दछ र बन्नुपर्दछ भन्ने, मान्यता र विश्वासलाई दह्रोसँग पक्रँदै र आफ्नो आदिभूमिमा फर्कने तामाङ जनताको जन्मसिद्ध अधिकारलाई पनि अविछिन्न अधिकारको रुपमा ग्रहण गर्दै,
विश्वभरी नै चलिरहेका न्यायोचित राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलिकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई हाम्रो समर्थन र ऐक्यबद्धता रहने तथ्यलाई नभूलीकन हाम्रो न्यायपूर्ण राष्ट्रिय मुक्ति आन्दोलन तथा नेपाली राष्ट्रवादका विरुद्ध हुने सबैखाले विदेशी चलखेल र हस्तक्षेप विरुद्ध दृढताकासाथ उभिने प्रण गर्दै, हामी ताम्सालीङ स्वायत्त राज्य (प्रदेश) को निम्न बमोजिम सिमाङ्कनको घोषणा गर्दछौं,
जस अनुसार "पूर्वको दुधकोशी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सिमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासित पूर्व-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भू-भाग ताम्सालीङ हो ।" ताम्सालीङ प्रदेशको वीचमा नेवार जातिको बाहुल्य रहेको भूभागमा नेवार जातिको स्वायत्त प्रदेशको सम्मान गर्दै "ताम्सालीङ प्रदेशको भूभागसँग जोडिएका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको तामाङ बाहुल्य गा.वि.स. र ताम्सालीङ प्रदेशसँग अविछिन्न रुपमा जोडिएका यस वरिपरिका तामाङ बाहुल्य क्षेत्रहरु तथा दक्षिणमा राजमार्गसँग अविछिन्न रुपमा जोडिएका तामाङ बाहुल्य गा.वि.स. तथा क्षेत्रहरु पनि ताम्सालीङ स्वायत्त प्रदेशकै भू-भाग हुन् भन्ने कुरा यसै घोषणापत्र मार्फत् जारी गर्दछौं ।"

हाम्रो मागहरु
१. "आत्मनिर्णयको अधिकारसहित ताम्सालीङ स्वायत्त प्रदेश" घोषणा गरियोस् ।
२. "धर्मनिरपेक्ष राज्य" को नीतिको उल्लंघन गर्दै अन्तरिम संविधानमा रहेको राष्ट्रिय जनावर "गाई" अविलम्ब खारेज गरियोस् ।
३. नेपाली सेनामा रहेको "पिपा गोश्वारा" को व्यवस्था खारेज गरी उनीहरुलाई अविलम्ब ससम्मान नेपाली सेनामा रुपान्तरण गरियोस् ।
४. अन्तरिम संविधानको व्यवस्था अनुसार ताम्सालीङ क्षेत्रमा तामाङ भाषालाई स्थानीय बाहुल्य मातृभाषा वा प्रादेशिक भाषाको रुपमा अविलम्ब कामकाजमा ल्याइयोस् ।
५. नेपालको नया संघीय संविधानमा "ताम्सालीङ स्वायत्त प्रदेश" मा लागु हुने गरी तामाङ भाषालाई राष्ट्रिय सूचीमा राख्दै प्रादेशिक भाषाको रुपमा मान्यता दिइयोस् ।
६. धर्मनिरपेक्ष राज्यको नीति अनुरुप साझा "राष्ट्रिय साँस्कृतिक नीति" अविलम्ब साझा राष्ट्रिय साँस्कृतिक नितिको घोषणा गरियोस् ।
७. सरकारको गठन प्रक्रियामा तामाङ समुदायबाट कोही पनि मन्त्री नपर्नु, विभिन्न आयोग, कुटनैतिक निकाय तथा सरकारी राजनैतिक नियुक्तिहरुमा समेत तामाङ जातिको प्रतिनिधित्व नभएको हुदा राज्यको विभिन्न अंग तथा संरछनाहरुमा तामाङ जातिको समानुपातिक प्रतिनिधित्वलाई गंभीरतापूर्वक ध्यान दिइयोस् ।
८. ताम्सालीङ स्वायत्त प्रदेश अर्न्तगतका सबै मुख्य सहर तथा नगरहरुलाई जोड्ने गरी "ताम्सालीङ चक्रपत" को अविलम्ब निर्माण गरियोस् ।

९. राजधानीका वरिपरि रहेर पनि तामाङ जनतामा ६१ प्रतिशतले गरिवी र ६५ प्रतिशतले अशिक्षा (नेपालको वर्तमान तथ्यांकअनुसार सबे भन्दा बढी गरिवी र अशिक्षा) रहेकाले ताम्सालीङ क्षेत्रमा अविलम्ब "मातृभाषामा ग्रामिण साक्षरता अभियान" र "एक घर एक रोजगार" को कार्यक्रम तथा स्व-रोजगारको कार्यक्रम अविलम्ब लागु गरियोस् ।

No comments:

Post a Comment

TAMANG HYULLA PARIWAR

Sharing Buttons