तामाङलाई ह्योल्मो बनाउने अभियान चुनौतीको रुपमा आएको छ

भरतपुर नगरपालिका ११, प्रगतिपथका सुर्य प्रकाश लामा हाल भरतपुर नगरपालिकामार् इन्जिनियरको रूपमा कार्यरत छन् । पुर्ख्र्यौली थलो सिन्धुपाल्चोक रहे पनि बुबाको पालामा सिन्धुपाल्चोकको कच्छीबाट दार्जिलिङ बसाइँ सरेका थिए । पछि वि.सं. २०२१/२२ सालमा चितवनमा सरेको लामा बताउँछन् । उनले स्कूल लेभलसम्मको पढाइ चितवनबाटै पूरा गरेका थिए । डिप्लोमा पोखराबाट र व्याचलर एक्मी इन्जिनियरिङ कलेज काठमाडौंबाट २०६६ मा पूरा गरेका हुन् । भरतपुर नगर तामाङ समाजको सह-सचिव लगायत विभिन्न सङ्घसंस्थामा आवद्ध लामासँग चितवनका तामाङ समुदायमा केन्द्रित रहेर गरिएको कुराकानीः
कस्तो हुँदैछ कामको अनुभव ?
अफिसियल काम हो, राम्रै भईरहेको छ । भरतपुर नगरपालिकामा तामाङको मात्र नभएर जनजातिहरूबाटै पनि कोही छैन मेरो (अधिकृत) लेभलको पोष्टमा रहेर काम गर्ने । जनजातिबाट म मात्रै छु, अन्य सबै कर्मचारी गैरजनजाति समुदायका छन् ।
चितवनको तामाङहरूको बसाइको बारेमा केहि जानकारी गराइदिनुस न ।
चितवनको इतिहास दुई किसिमको छ । नौ वटा गाविसहरू पहाडी गाविसमा पर्छन् । चितवन भन्ने वित्तिकै सुगम र सम्म भन्ने बुझाइ रहेको हुन्छ । तर ती नौ वटा गाविसहरू दुर्गममा पर्दछन् । त्यहाँ राणाकालीन समयदेखि नै बस्ती रहेको पाईन्छ । त्यस क्षेत्रमा पनि तामाङहरू छन् । उनीहरू पहिलेदेखि नै बसेका हुन् । तर चितवन खुलेपछि तर्राईमा बसेका तामाङहरू चाहिँ सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, मकवानपुर, रामेछाप, दोलखा लगायत जिल्लाहरूबाट धेरै सङ्ख्यामा यहाँ आएर बसोबास गरेका छन् । यो चाहिँ २०२०/२२ साल पछि हो ।
अहिले तपाईंको क्षेत्रमा कति सङ्ख्यामा तामाङहरू छन् ?
२०५८ को तथ्याङ्क अनुसार चितवन जिल्लामा ४० हजार तामाङहरू रहेका छन् । भरतपुर नगरपालिकाभित्र त्यसबेलाको तथ्याङ्कमा लगभग छ हजार देखाएको छ । अहिले त धेरै नै बढी सकेको छ ।
तामाङहरूको शैक्षिक र आर्थिक अवस्था कस्तो छ त्यहाँ ?
भेग अनुसार शैक्षिक र आर्थिक स्थिति पनि फरक-फरक छ । लाहुरे कल्चरबाट आएका तामाङहरूको आर्थिक र शैक्षिक स्थिति राम्रो छ । त्यसबाहेक धादिङ, रामेछापबाट आएका तामाङहरू परम्परागत रूपमा कृषिमै निर्भर देखिन्छन् । शैक्षिक स्तरमा त्यति राम्रो नभए पनि पछिल्लो समयमा राम्रै हुँदै आएको देखिन्छ ।
तामाङ संस्कृतिको पाटो कस्तो छ ?
त्यहाँ आएका पहिलो पुस्ताहरू अझै पनि छन् । त्यसकारण तामाङ परम्पराहरू कायमै छन् । भाषा र साँस्कृतिक पाटोलाई अहिलेसम्म बिर्सेका छैनन् । पछिल्लो समयमा एउटा असहज परिवेश सिर्जना भएको छ । हृयोल्मो क्षेत्रका तामाङहरू अहिले आफूलाई हृयोल्मो भनेर आईरहेका छन् । उनीहरूले हामी तामाङ होईनौँ भनिरहेका छन् । पहिलेदेखिनै आफूलाई शेर्पा भन्नेहरू पनि थिए । त्यहाँ दुईतर्फी विहेबारी चल्दै आएको छ । उनीहरूको घरमा ५० प्रतिशत तामाङ चेलीहरू नै पुगेका छन् । उनीहरूको चेलीबेटी पनि तामाङको घरमा आएका छन् । अहिले चाहिँ उनीहरू तामाङ भन्ने जात नै छैन, तामाङ भनेकै हृयोल्मो हो भनेर सोझा तामाङहरूलाई हृयोल्मो बनाउने सशक्त अभियान चलाईरहेका छन् । हिजोसम्म तामाङ लेख्ने मान्छेहरू पनि आज हृयोल्मो लेख्ने भईसके । यो निकै चुनौतीको रूपमा आएको छ ।
के कारण यस्तो भयो ?
मेरो विचारमा, मुख्य कुरा तामाङ भनेर एकपक्षीय रूपमा अगाडि बढेर हो कि जस्तो लाग्छ । जस्तोः तामाङ संस्कृतिको पहिचानको रूपमा डम्फूलाई मात्र अगाडि बढाइयो । यसबाहेक अन्य पनि छन् । तामाङभित्र पनि भिन्न-भिन्न भाषा, संस्कृति छन् । तर तामाङ घेदुङ लगायत सङ्घसंस्थाहरूले सबै संस्कृतिलाई समायोजन गरेर अगाडि बढ्न सकेन । एउटै भाषा, संस्कृतिलाई मात्र बढी प्रचार-प्रसारमा ल्यायो । यसले गर्दा अन्य भाषा बोल्ने, अलि फरक संस्कृति भएका तामाङहरूले अपनत्व ग्रहण गर्न सकेनन् कि जस्तो लाग्यो । अहिले तामाङको ड्रेस भनेर स्यामालाई मात्र बढी प्रचारमा ल्याएको छ । यसबाहेक हिमाली भेगका तामाङहरूले पहिलेदेखि नै बखु लगाउने गरेका छन् । पछिल्लो समयमा यस्तो लुगा लगाएर कार्यक्रमहरूमा आउनेलाई तामाङ नै होइन जस्तो व्यवहार पनि गरेको देखिन्थ्यो । यसले गर्दा पनि उनीहरू अलि रूष्ट भएका हुन् कि !
त्यहाँ कुन कुन संस्था सक्रिय छन् अहिले ? ती संस्थाहरूले कसरी हेरेका छन् यो मुद्दालाई ?
मुख्यत नेपाल तामाङ घेदुङ नै छ । यसबाहेक भरतपुर नगर तामाङ समाज, किरण तामाङ उत्थान सङ्घ, तामाङ कलाकार सङ्घलगायत सक्रिय छन् । यो समस्या चाहिँ विशेष गरी भरतपुर नगरपालिका भित्र बढी देखिएको छ । पश्चिम चितवनमा पनि यो समस्या छ । किरण तामाङ तामाङ उत्थान सङ्घले उनीहरूसँग छलफल गरेर पुनः सङ्घमा आवद्ध गराएको छ । भरतपुरमा चाहिँ अलि बढी समस्या छ । अहिले हामीले त्यहाँका बुद्धिजिवीहरूलाई राखेर विशेष किसिमको अन्तरक्रियाहरू गर्ने योजना छ । ल्होछारको अवसर पारेर सबै तामाङ संस्कार, संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्ने खाका बनाउँदैछौं । अहिले चाहिँ एम्बुलेन्स सञ्चालन गर्नेतर्फकेन्द्रित भएकोले केहि कार्यक्रम गर्न सकेको छैन ।
भरतपुर नगर तामाङ समाजको बारेमा केहि जानकारी गर्राईदिनुस न ।
यसको स्थापना २०६६ सालमा भएको हो । यसमा भरतपुर नगरपालिकाभित्र रहेका तामाङहरूलाई समेटिएको छ । सुरूमा तामाङ समुदायको घेवा संस्कारमा जाँड रक्सीको बढी प्रयोग गर्ने चलनको अन्त्य गर्न गुठीको रूपमा गठन भएको हो । घेवा जस्तो संस्कारमा जाँड रक्सी खाएर झै-झगडा गर्ने नराम्रो प्रचलनको अन्त्य गर्न यसमा आवद्ध सबैले यस्तो संस्कारमा जाँड रक्सी प्रयोग गर्न नपाउने नियम बनाएका थियौँ । घेवामा आउँदा रक्सी र चामलको सट्टा एक सय रूपैयाँ पैसा ल्याउन हामीले आहृवान गर्यौँि । सुरू सुरूमा निकै चुनौती आयो । अधिकांश सदस्य बने तर काम गर्दै जाँदा विवाद आउन थाले । तर अहिले यो सफल भएको छ । कसैले विवाद गर्दैनन् ।
यसपछि संस्थाले अन्य सामाजिक कार्यहरू अगाडि बढाउँदै आएको छ । वाषिर्क ल्होछार मनाउने, ल्होछारमा रक्तदान गर्नेलगायत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यो वर्षएम्बुलेन्स खरिद गर्नका लागि लागिपरेका छौं । यसका लागि संस्थाका सबै सदस्यहरूबाट आर्थिक सङ्कलन गरिएको छ । यसबाहेक भरतपुर बाहिरका तामाङहरूबाट पनि सहयोग सङ्कलन गरेका छौं । सबैले सकारात्मक रूपमा लिएर सहयोग गरेका छन् । एम्बुलेन्स खरिदको लागि सबै काम अघि बढिसकेकोले केहि महिनाभित्र नै सञ्चालनमा आउनेछ ।
यसबाहेक अन्य योजना ?
यस बाहेक तामाङहरूले परम्परादेखि प्रयोग गर्दै आएको चिहानडाँडा अहिले सामुदायिक वनमा पार्ने सरकारी प्रक्रिया बढेको छ । हामीले पहिलेदेखि नै प्रयोग गर्दै आएको हुँदा सामुदायिक वनमा पार्नुभन्दा अघि नै आधिकारिक रूपमा दर्ता गरेर व्यवस्थित गर्ने योजनामा छौं । भरतपुरमा अहिले तामाङहरूले स्थापना गरेको एउटा गुम्बा छ । यसको केहि भाग जग्गामा तामाङ साँस्कृतिक सङ्ग्राहलय बनाउने योजना छ । यसको एरिया अलि फराकिलो भएको हुँदा धार्मिक क्षेत्र र साँस्कृतिक क्षेत्रको रूपमा विकास गर्ने योजना छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
तामाङ पत्रपत्रिकाप्रति म पहिले देखि नै रूची राख्ने मान्छे । पहिले भरतपुरबाटै एउटा तामाङ पत्रिका पनि चलाएका थियौँ । विभिन्न कारणबस बन्द भयो । अहिले तामाङ सरोकार निकै सशक्त रूपमा अगाडि आएको छ । आगामी दिनमा चितवनका तामाङहरूको आवाज पनि यसमा समेट्नेछ र चितवनका तामाङहरूले अन्य क्षेत्रका तामाङहरूको कुरा पढ्न पाउनेछन् भन्ने आशा व्यक्त गर्दछु । धन्यवाद् ।

(तामाङ सरोकार पाक्षिकबाट)

Comments

Popular posts from this blog

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

hello