संघीयताका अन्तर्राष्ट्रिय अनुभव

साभारः Amrit Lopchan Tamang
डा. मंगलसिद्धि मानन्धर 
mangalsidhi अन्तरिम संविधानले २०६३ सालमा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको थियो । त्यसअनुसार पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले पहिचानलाई प्रमुख आधार र सामथ्र्यलाई सहायक आधार मानेर १४ प्रदेशको प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसरी नै ढिलै भए पनि २०६८ मंसिर ६ को मन्त्रिपरिषद् निर्णयअनुसार राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग गठन भयो । त्यसले पनि पहिचानलाई नै प्रमुख आधार बनाई १० प्रदेशको प्रस्ताव अगाडि सार्‍यो । आयोगले थप एक गैरभौगोलिक दलित प्रदेश पनि प्रस्ताव गर्‍यो । तर उल्लिखित प्रस्तावहरूप्रति पार्टीहरूबीच सहमति हुनसकेन । मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेसले तीव्र रूपमा असहमति जनाए । तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो पार्टी एनेकपा माओवादीले कुनै पनि प्रस्तावलाई प्रक्रियामा लगेर मतदान गराएन । सहमतिमै संविधान बनाउने आशयले संविधान लेखन अधुरै छाडियो ।
दोस्रो संविधानसभाको चुनावबाट कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो पार्टीहरूको रूपमा स्थापित भए । दुवैको संयुक्त मतको आधारमा कुनै पनि प्रस्ताव मतदानको प्रक्रियाबाट दुई तिहाइ मतद्वारा पारित गर्नसक्ने सम्भावना देखिएको छ । तर एकात्मक र केन्द्रीकृत राज्यको विनिर्माण गरेर संघीयतामा जाँदा पहिचानको आधारमा गर्ने अन्तर्राष्ट्रिय अभ्यास र विभिन्न समयमा आदिवासी-जनजाति र मधेसी समुदायले गर्दै आएका आन्दोलन, विद्रोह, सशस्त्र संघर्षहरूको उद्देश्य, मर्म र भावनाहरूलाई नजरअन्दाज गरी असहमतिबीच संविधानको घोषणा उचित होला ?
संसारमा दुई किसिमले बनेका संघीय देशहरू पाइन्छन् । एकै ठाउँमा आएर बनेका संघीय संरचना भएका देशहरू र एकात्मक तथा केन्द्रीकृत राज्य विनिर्माण गरेर एकै ठाउँमा रहन/राख्न संघीय संरचनामा गएका देशहरू ।
एकै ठाउँ आएर बनेका देशहरू
संयुक्त राज्य अमेरिका स्वतन्त्र राज्यहरू एकै ठाउँमा आएर बनेको संघीय संरचना हो । अमेरिकाको पूर्वी भागमा रहेका १३ राज्यहरू मिलेर बि्रटिस साम्राज्यविरुद्ध स्वतन्त्रताको निम्ति सशस्त्र संघर्ष गरे । लामो संघर्षपछि सन् १७७६ मा स्वतन्त्रताको घोषणा गरे । यी १३ स्वतन्त्र राज्यहरू मिलेर सन् १७८९ मा संयुक्त राज्य अमेरिकाको स्थापना भयो । संयुक्त राज्य निर्माण गर्दाको कारण ब्रिटिस साम्राज्यबाट फेरि पनि हुनसक्ने आक्रमणको सम्भावना नै प्रमुख कारण थियो । सशस्त्र संघर्षबाट १३ अमेरिकी राज्यहरूले बि्रटिस साम्राज्यलाई अमेरिकामा पराजित गरे पनि बि्रटेन तत्कालीन संसारको सबैभन्दा शक्तिशाली साम्राज्यका रूपमा कायमै थियो ।
सुरुमा १३ राज्यहरूले संयुक्त राज्य अमेरिका स्थापना गरे पनि क्रमशः राज्यहरू थपिँदै गए । यो देशले कुनै लडाइँ गरेर, कुनै किनेर र अरु विशाल अमेरिका महादेशको पश्चिमी भूभाग (मिसिसिपी नदीको पश्चिम) मा विस्तार गरेर प्रशान्त महासागरसम्म आफूलाई फैलायो र ५० वटा राज्यहरू कायम गर्‍यो ।
रूसमा सन् १९१७ मा अक्टोबर क्रान्ति भयो । १९२२ मा रूस सोभियत संघीय समाजवादी गणतन्त्र र ट्रान्स-ककेसियन सोभियत संघीय समाजवादी गणतन्त्र, बेलोरूसियन सोभियत संघीय समाजवादी गणतन्त्र र युक्रेन सोभियत समाजवादी गणतन्त्र मिलेर संघीय संयुक्त सोभियत समाजवादी गणतन्त्रको निर्माण भयो । त्यसपछि सोभियत समाजवादी गणतन्त्रहरू थपिँदै गए । सन् १९२४ मा टुर्कमेन र उज्बेक, १९२९ मा ताज्जिक, १९३६ मा कजाक र किर्गिज सोभियत समाजवादी गणतन्त्रहरू मिसिए । यसै वर्ष ट्रान्स-ककेसियन गणतन्त्र भंग गरियो र यसले ओगटेको क्षेत्रलाई अर्मेनिया, अजरबैजान र जर्जिया सोभियत समाजवादी गणतन्त्रहरूमा विभाजित गरियो । १९४० मा कारलोहफिन क्षेत्र, माल्दाभिया, इस्टोनिया, लात्भिया र लिथ्वेनिया सोभियत समाजवादी गणतन्त्रहरू स्थापित भए । तर कारलोहफिन क्षेत्र १९५६ मा सोभियत संघीय संरचनाबाट अलग्गिएर स्वतन्त्र भए । त्यसपछि सोभियत संघमा जम्मा १५ राज्यहरू बाँकी रहे ।
सोभियत समाजवादी गणतन्त्रहरू सोभियत संघ स्थापना हुँदा पहिचान स्पष्ट भएका राष्ट्र राज्यहरू एकै ठाउँमा आएर भएको देखिन्छ । सन् १९९१ मा सोभियत संघ विघटन हुँदा धेरै सोभियत राज्यहरू छुट्टै पहिचानसहित स्वतन्त्र र सार्वभौम देशका रूपमा देखापरे । रूसले सोभियत संघ भंग भएपछि देशको नाम संघीय रूस राख्यो । २०१४ मार्चसम्म आइपुग्दा रूसमा ६ प्रकारका गरी जम्मा ८५ संघीय इकाइहरू थिए, जसमा २२ वटा गणतन्त्रहरू, ४६ वटा ओब्लासटहरू (संघीय गर्भनर नियुक्त हुने क्षेत्रहरू), ९ वटा क्रेजहरू (ऐतिहासिक क्षेत्रहरू), ४ वटा स्वायत्त ओक्रुजहरू (आदिवासी-जनजाति भएका क्षेत्रहरू), ३ वटा संघीय सहरहरू र एक स्वायत्त ओब्लास्ट -यहुदी क्षेत्र) छन् ।
नेपाल संघीयतामा जाँदैछ । संघीय इकाइहरू कुन आधारमा निर्माण गर्ने टुङ्गो भने लागिसकेको छैन । संघीय इकाइहरू पहिचानको आधारमा हुनुपर्छ भन्ने एक पक्ष छ भने अर्को पक्ष सामथ्र्यको आधारमा हुनुपर्छ भन्ने अडानमा छ । पहिचानलाई नकार्न गाह्रो भएकाले अस्पष्ट र भ्रमात्मक शब्द- बहुपहिचानमा जाने कुरा गर्नेहरू पनि छन् ।
संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैमा राज्यहरू मिलेर निर्माण भएका हुन् । एकात्मक र केन्द्रीकृत राज्यको विनिर्माणवाट संघीयतामा गएका होइनन् । तर नेपाल एकात्मक र केन्द्रीकृत राज्यलाई विनिर्माणवाट इकाइहरू निर्माण गरी संघीयतामा जानलागेको हो ।
विनिर्माणबाट संघीयतामा गएकाहरू
हाम्रो छिमेकी देश भारत पनि एकात्मक र केन्द्रीकृत संरचनाको विनिर्माण गरी संघीयतामा गएको हो । भारतमा पनि त्यसबेला संघीयताको आधार के हुने भन्ने विषयमा ठूलो विवाद रह्यो । एकातिर संघीय इकाइहरूको आधार पहिचान नै हुनुपर्छ भन्ने ठूलो मत रह्यो भने अर्कोतिर तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू लगायत पहिचानलाई आधार बनाउन सहमत देखिएनन् । राज्य पुनःसंरचना आयोगको गठन भयो । सन् १९५६ मा आयोगको सिफारिसअनुसार संघीय इकाइहरू भाषिक र जातीय आधारमा निर्माण गरिए । मद्रास राज्यलाई केरला र तमिलनाडु राज्यहरू बनाइए । बम्बे राज्यलाई महाराष्ट्र र गुजरात राज्यहरूमा छुट्याइयो । त्यसरी नै पञ्जावीभाषीहरूको पञ्जाब बन्यो । पछिल्लोपटक बनेको तेलंगानासहित अहिले भारतमा २९ राज्यहरू छन् ।
पाकिस्तान पनि पहिचानकै आधारमा विनिर्माण भएको देखिन्छ । बलुचीहरूको बलुचिस्तान, पञ्जाबीहरूको पञ्जाव, सिन्धिहरूको सिन्ध र उत्तर पश्चिम सिमान्त प्रान्त/खैबर पकटुन खावाः । सन् १९९४ मा अफ्रिकी महादेशको इथियोपिया संघीयतामा गयो । जातीय पहिचानको आधारमा ९ प्रदेश र २ संघीय क्षेत्रहरू बनाइए ।
सन् १९९४ मा संसारका धनी देशहरू मध्येको बेल्जियम तीन संघीय इकाइहरूमा विभाजित भयो । तीन राज्यहरूको आधार पहिचान नै थियो: फ्लेमिस (५७.९ प्रतिशत डचभाषी), वालोन (३२.६ प्रतिशत फ्रेन्चभाषी) र ब्रसेल्स (जर्मन र फ्रेन्चभाषी) । सन् २००५ मा इराक संघीयतामा गयो । कुर्द राष्ट्रलाई स्वशासित कुर्दिस्तान राज्यका रूपमा स्थापित गर्‍यो ।
एकात्मक र केन्द्रीकृत राज्यहरू संघीयतामा जाँदा पहिचानलाई नै मुख्य आधार बनाएको पाइन्छ । देशको विविधताको समस्यालाई उपयुक्त रूपमा सम्बोधन गर्न संघीयता एउटा उत्कृष्ट उपायको रूपमा प्रयोग गरेको पाइन्छ । नेपालमा मात्र सामथ्र्यको आधारमा एकात्मक र केन्द्रीकृत नेपाललाई संघीय इकाइहरूमा विनिर्माण गर्ने प्रयास भइरहेको छ ।
सामथ्र्यको आधारमा एकात्मक र केन्द्रीकृत राज्यहरूलाई विनिर्माण गरेर संघीयतामा जाने अन्तर्राष्ट्रिय अभ्यास देखिँदैन । नेपाल एक त अति कम विकसित देशहरूको वर्गमा पर्छ । देशमा भौतिक पूर्वाधारहरूको कमी छ । प्रतिव्यक्ति आय हाल ४७०३ डलर पुगेको अनुमान छ । अझै पनि नेपालको बजेटमा विदेशी अनुदान र ऋणले ठूलो भाग ओगटेको छ । सामथ्र्यको आधारमा देश नै अति कमजोर अवस्थामा छ । देशको सामथ्र्य कमजोर रहेको अवस्थामा सम्पन्न प्रदेशहरू खोजेर पहिचानलाई नकार्न खोज्नु तर्कसंगत देखिँदैन । सामथ्र्य बढाउने हाम्रो आवश्यकता हो । सामथ्र्य बढाउन सकिन्छ ।
सामथ्र्यको आधारमा संघीय प्रदेशहरूको निर्माण गर्दा विभिन्न कालखण्डमा उठेका आदिवासी-जनजातिहरूको आन्दोलन, मधेसीहरूले गरेका जनविद्रोह, उनीहरूसँग भएका सम्झौताहरू र अन्तरिम संविधानको पनि विपरीत हुनजाने देखिन्छ । अन्तरिम संविधानको धारा १३८ (१ क) मा मधेसी समुदाय लगायत आदिवासी-जनजातिहरूको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राज्य बनाउने लेखिएको छ । साथै अर्को महत्त्वपूर्ण कुरा, विनिर्माणबाट संघीयतामा जाँदा पहिचानलाई आधार मान्ने अन्तर्राष्ट्रिय अभ्यास नमान्ने हुनजान्छ । अन्ततः यस्तो हुँदैन होला, तर यस्तो भइहाल्यो भने देशको लागि ठूलो दुर्भाग्य हुनेछ ।
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)


Comments

Popular posts from this blog

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)